बेलायत आएपश्चात स्थापनाकाल बि॰सं॰ २०६४ साल तदनुसार सन् २००७ देखि नै तमु (गुरुङ) समाज केन्टले मनाउदै आएको आफ्नो जातिय पर्व ‘ल्होसार’ यसपाली पनि यस संस्थाका चौथो कार्यसमितिको संयोजकत्वमा गत पुष १५ गते २०७० साल तदनुसार सन् २०१३ डिसेम्बर ३० तारिक सोमबारका दिन केन्टको हकिन्जस्थित सामुदायिक भवनमा दिउसो १ बजेदेखि नै तयारी शुरु गरिएको थियो । मन्च सजावट तथा सभा-भवनमा बस्नेलगायत खाने तथा पिउनेको ब्यवस्थापन लगभग साँझ ५ बजे पुरागरी औपचारिक कार्यक्रमको लागि सबै तयार पारिएको थियो ।ल्होसार कार्यक्रमको प्रत्येक अंशलाई सम्बद्ध रुपमा अघि बढाउन उदघोषकमा महासचिव श्री नर बहादुर गुरुङ र उदघोषिकामा कलाकार सुश्री शाईना गुरुङ रहनु भएको थियो भने ध्वनी सञ्चालकमा बीबेक मेचे र आशीश गुरुङ रहनु भएको थियो ।
त्यस्तैगरी छायाङ्कनमा हाम्रो संस्थाका वेबसाईट सञ्चालक श्री गणेश कुमार गुरुङ रहनु भएको थियो ।प्रत्येक बर्ष बेग्लै स्वाद लिने उदेश्यले यस पल्ट खानाको ब्यवस्थापन श्री अमर तमु (ओरिएन्टल बफे)लाई दिईएको थियो भने पेय पदार्थको ब्यवस्थापन श्री चन्द्र तमु (गोर्खा हिल सुपरस्टोर)लाई दिईएको थियो । वहाँहरू दुवैबाट सुलभ मूल्यमा बिभिन्न परिकारका मीठो खाना र पेय पदार्थ उपलब्ध गराईएको थियो ।कार्यक्रम स्थलसम्म जान-आउन सबैको सुबिधाको लागि फक्स्टन र अश्फोर्डबाट २/२ पटक यातायातको ब्यवस्था, कार्यक्रम सबैले राम्ररी सुन्न सकोस् भन्ने हेतुले असल ध्वनी सञ्चालकको ब्यवस्था र सबैको सुरक्षाको लागि सुरक्षा पहरेको ब्यवस्था भने हाम्रा संस्थाका सल्लहकार पूर्व-पार्षद् श्री धन गुरुङज्युले गर्नु भएको थियो ।निमन्त्रणा अनुसार साँझको ५:३० बजेबाट अतिथिहरूको आगमन शुरु भएको थियो ।
अतिथिहरुमा केन्टभित्रका सम्पुर्ण नेपाली संघ-संस्थाका प्रमुखहरू, फक्स्टन र हकिञ्ज शहर प्रमुखहरू, बिएफबिएस गोर्खा रेडियो प्रमुख, डा॰ बस्न्यात र क्या॰ रञ्जन बड्गामी (एसएएस, ब्रिटिश आर्मी)निमन्त्रित थिए भने प्रमुख अतिथिमा हकिञ्ज शहर प्रमुख पार्षद् टी॰ हट रहनु भएको थियो । अतिथि सत्कारमा हाम्रा संस्थाका सल्लाहकारज्युहरू, पूर्व-पार्षद् धन गुरुङ, पूर्व-अध्यक्ष श्री युवराज गुरुङ, पूर्व-अध्यक्ष श्री गुन गुरुङ, पूर्व-अध्यक्ष श्री चित्र गुरुङ, भुपु मे॰ श्री दीलिप कुमार गुरुङ, भुपु क्या॰ श्री बालकृष्ण गुरुङ, भुपु ले॰ किशोर कुमार गुरुङ, भुपु आरएसएम॰ श्री देवानसिङ गुरुङ र पूर्व-निर्देशक बिएफबिएस श्री खेम गुरुङ खटिनु भएको थियो ।तर बिशेष कारणबश उपस्थित हुन नसक्नु भएका सल्लाहकारहरुका जिम्मेवारी चाँही अन्य साधरण सदस्यहरूले लिनु भएको थियो । अतिथिहरूलाई स्वागत आनि अभिनन्दन कार्यक्रमपछि टिपन-टापन शुरु भएको थियो भने साँझ ६:३० बजेबाट मुख्य खाना शुरु गरिएको थियो ।कुनै पनि कार्यक्रम शुरु गर्नु अघि बेलायतको नियम-कानूनलाई अनुसरण गर्दै साँझ ७ बाजे संस्थाका महासचिव श्री नर बहादुर गुरुङले सबैको ध्यानाकर्षण गरी अचानक हुनसक्ने घटना वा दुर्घटनाबाट कसरी बच्ने ? भन्ने बारे उपस्थित सबैलाई स्वस्थ्य र सुरक्षाको जानकारी दिएर औपचारिक कार्यक्रमको प्रारम्भ हुन लागेको सूचित गर्नु भएको थियो । त्यसपछि साँझ ७:०५ बजे संस्थाका अध्यक्ष श्री शोभराज गुरुङ र प्रमुख अतिथि पार्षद् टी॰ हटको बाहुलीबाट पानसमा दिप प्रज्वलन् भएपछि औपचारिक कार्यक्रमको शुभारम्भ भएको थियो ।
कार्यक्रमको थालनीसँगै साँझ ७:१० बजे संस्थाका उपाध्यक्ष श्री मोहनकृष्ण गुरुङज्युले स्वागत मन्तब्य दिनु भएको थियो । त्यसपछि संस्थाका अध्यक्ष श्री शोभराज गुरुङज्युले ‘ल्होसार सन्देश’ ब्यक्त गर्नुका साथै ‘सप्री ल्हो (सर्प बर्ग’ लाई बिदाई र ‘त ल्हो (घोदा बर्ग’ लाई स्वागत गर्नु भएको थियो ।अघिल्ला बर्षहरुमाझैँ यस बर्ष पनि शिक्षामा उच्च स्थान ओगट्न सफल हाम्रा नानीहरूलाई बधाई, प्रमाण पत्र र पुरस्कार प्रदान गर्ने कार्यक्रम साँझ ७:२५ बजेबाट प्रारम्भ गरिएको थियो । जसमा गत बर्ष स्थापित जी सी एस ई मा उच्च स्थानमा आउनेलाई दिईने १०१ पाउण्ड नगदको “उज्वल भविश्य पुरस्कार” यो बर्ष हाम्रा खेलकुद सचिव श्री सूर्य तमु र श्रीमती मायाँ तमुकी सुपुत्री सुश्री सुजीत तमुले ३ वटा ए स्टार, ६ वटा ए र २ वटा बी ल्याएर यस बर्षको पुरस्कार जित्न सफल भईन भने उनकै दिदी स्याफ्रोन तमुले एउटा ए स्टार, ८ वटा ए र २ वटा बी ल्याएर बधाई तथा प्रमाणपत्र प्राप्त गर्न सफल भईन ।
यो १०१ पाउण्डको नगद पुरस्कार हाम्रा गोर्खा हिल सुपरस्टोरका मालिक श्रीमान/श्रीमती चन्द्र बहादुर गुरुङज्युले सहर्ष प्रदान गर्नु भएकोमा वहाँलाई संस्थाको तर्फबाट धन्यबाद ज्ञापन गरिएको थियो र सधैं धन्यबादका पात्र रहनु हुनेछ ।उच्च शिक्षातर्फ श्री दल प्रसाद र पम्फा कुमारी गुरुङकी सुपुत्रीद्वय सुश्री आर्ति गुरुङले केन्ट बिश्वबिध्यलयबाट गणित बिज्ञानमा स्नातक गर्नु भएको छ भने सुश्री दिपा गुरुङले क्यान्टबरी क्राइस्ट चर्च बिश्वबिध्यालयबाट बाल स्याहार-सुसारमा प्रमाणपत्र तह उतिर्ण गर्नु भएको छ । त्यस्तै गरि हाम्रा पूर्व-कोषाध्यक्ष श्री याम तमु र श्रीमती धन कुमारी तमुकी सुपुत्री सुश्री सुसन तमुले लेखा र अर्थमा प्रथम स्तरको सम्मानसहित प्रमाणपत्र तह उतिर्ण गर्नु भएको छ ।
गुरुङ समाज केन्टको तर्फबाट वहाँहरू सबैलाई बधाई तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसपछि हाम्रा प्रमुख अतिथि पार्षद् टी॰ हटबाट संस्थालाई धन्यबाद् दिने क्रममा वहाँले बेलायती सरकारले गोर्खाहरूको वर्तमान बिभिन्न मागहरुका बिषयमा निक्कै ध्यान पुर्याउनु पर्ने मन्तब्य ब्यक्त गर्नु भएको थियो । अतिथिको धन्यबाद र मन्तब्य ज्ञापनपछि हाम्रा संस्क्रिती सचिव श्रीमती नीशा गुरुङ, सह-सचिव श्रीमती तारा गुरुङ र संयोजक श्रीमती निर्मला गुरुङको संयुक्त प्रयासमा तयार पारिएको साँस्कृतिक कार्यक्रम करिब बेलुकीको ७:४५ बजेबाट शुरु भएको थियो ।
उक्त कार्यक्रमका सहभागी कलाकारहरुमा नाँचतर्फ सुश्री शाईना गुरूङ, सुश्री अस्मिता गुरुङ, सुश्री सुजता गुरुङ, श्री शरीक गुरुङ, श्री अनमोल गुरुङ, श्री बिबेक लिम्बु, सुश्री मेरिना गुरुङ, सुश्री निलु गुरुङ, सुश्री इभा गुरुङ, सुश्री निग्चेन गुरुङ, सुश्री मनिषा गुरुङ, सुश्री सस्कृति गुरुङ र सुश्री निङ्वा लिम्बु हुनुहुन्थ्यो भने गायनतर्फ श्री आशिश गुरुङ र सुश्री राचल बड्गामी हुनुहुन्थ्यो । यी सबै कलाकारहरुका बिभिन्न थरिका नाँचगानहरूको मीठासले गुरुङ समाज केन्टको ल्होसार साँझ अति मनोरञ्जनात्मक र आकर्षक रहेको थियो ।
साँस्कृतिक कार्यक्रमको अन्तमा सबै कलाकारहरूलाई केही नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने त्यसको लगत्तै हाम्रा संस्थाका महिला संयोजक श्रीमती कमला गुरुङ र वहाँको सहयोगीहरू श्रीमती बाल कुमारी गुरुङ, श्रीमती मधु गुरुङलगायतका दिदी बहिनीहरुका सन्योजकत्वमा भाग्य चिट्ठा पनि सन्चालन गरिएको थियो । उक्त भाग्य चिट्ठाका पुरस्कारदाताहरुमा संस्थाका अध्यक्ष श्रीमान/श्रीमती शोभराज गुरुङ, उपाध्यक्ष श्रीमान/श्रीमती मोहन कृष्ण गुरुङ, महिला संयोजक श्रीमती कमला गुरुङ, श्रीमती बाल कुमारी गुरुङ, श्रीमती राज देवी गुरुङ र श्रीमती जानुका देवी गुरुङले बिभिन्न प्रकारका चिजहरू प्रदान गर्नु भएको थियो । भने हाम्रा ओरिएन्टल बफेका मालिक श्री अमर तमुले २ जनाको लागि खानाको रसिद (लन्च भौचर्) प्रदान गर्नु भएको थियो । त्यसै गरि हाम्रा पोखरा ट्राभल्सका मालिक श्री ज्ञाम तमुले ५० पाउण्ड नगद प्रदान गर्नु भएको थियो ।रातीको करिव ९:४५ बजे सबै कलाकारहरूले मिश्रित वा कोक्टेयल गीत गाएर सम्पुर्ण दर्शकहरूलाई मिश्रित वा कोक्टेयल नाँचतर्फ आकर्षित गराएका थिए । यस नाँचमा के साना, के ठूला, के तरुनी, के तन्नेरी, के बुढापाका सबैको सहभागिता रहेको थियो ।
यसरी यो अन्तिम अंश मिश्रित नाँच वा कोक्टेयल डान्ससँगै उर्लिदै, कुर्लिदै सबैसित मनोरञ्जन गरी भब्यताका साथ यस बर्षको ल्होसार कार्यक्रम रातीको करिव ११:०० बजे सुसम्पन्न भएको थियो ।कार्यक्रमको अन्तसँगै संस्थाका अध्यक्ष श्री शोभराज गुरुङज्युले मञ्च तथा सभा-कक्ष तयार गर्नेदेखि खाना, पेय पदार्थ, यातायात, सुरक्षा पहरे, ध्वनी सञ्चालक आदीको ब्यवस्था गरी सहयोग गर्नुहुने सबै ब्यक्तित्वहरु, दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाउने सबै कलाकारहरू, अतिथि सत्कारमा खटिएका सबै सल्लाहकारहरू तथा अन्य सदस्यहरु, भाग्य चिट्ठा सञ्चालक महिला समुह, उज्वल भविश्य तथा भाग्य चिट्ठाका पुरस्कार दाताहरू, अतिथि तथा कलाकारहरूलाई खाना र पेय पदार्थ दाताहरु, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबै सहयोगी हातहरु र सभा-भवनमा उपस्थित भएर ल्होसार पर्व सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पुर्ण महानुभावहरुमा धन्यबाद ज्ञापन गर्दै आभार ब्यक्त गर्नु भएको थियो ।
महासचिव
गुरुङ समाज केन्ट