कुनै पनि संस्था बिभिन्न उदेश्यहरू लिएर खोलिएको हुन्छ भने हाम्रो गुरुङ समाज केन्ट पनि त्यसै अनुरुप खोलिएको संस्था हो । “सुखमा हाँस्न  र दु:खमा रुनँ  सघाउनु” भनेझैं  हाम्रो संस्थाले पनि यसका सदस्यहरुमाझ सुखमा रमाइलो गर्दै अनि दु:खमा भौतिक तथा आर्थिक सहयोग गर्दै आएकोछ । त्यसै क्रममा, बेलयतबाट स्वदेश छुट्टी गएको बेला गत सन् २०१३ नोभेम्बर ५ तारिक नेपालमा स्वर्गरोहण हुनु भएका हाम्रो संस्थाका सदस्य नम्बर १७८ स्व॰ श्री बीन बहादुर गुरुङ,त्यसै गरी बेलयतबाट स्वदेश छुट्टी गएको बेला गत सन् २०१३ नोभेम्बर ९ तारिक नेपालमा स्वर्गरोहण हुनु भएका हाम्रो संस्थाका सदस्य नम्बर  १९० स्व॰ श्री चक्र बहादुर गुरुङ र सन् २०१३ डिसेम्बर १८ तारिक बेलायतमा स्वर्गरोहण हुनु भएका हाम्रो संस्थाका सदस्य नम्बर  १९९ स्व॰ श्री बल बहादुर गुरुङका शोकसन्तप्त परिवारजनहरूलाई केही आर्थिक सहयोग पुर्‍याउने उदेश्यले हाम्रो गुरुङ समाज केन्ट (जी॰एस॰के॰)ले संस्थामा स्थापित नियम अनुसार कोषाध्यक्ष  श्री बल राम गुरुङको संयोजकत्वमा चन्दा सङ्कलन् कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रममा संस्थाका अधिकतम सदस्यहरूको सहभागिताको लागि सबै दाता सदस्यहरूको ब्यास्ततालाई पनि ध्यानमा राखेर उपयुक्त अवसर सबैले प्राप्त गर्न सकुन् भन्ने हेतुले साँढे तीन महिनाको समय-अवधी तोकिएको थियो । यस अवधिभित्र बिभिन्न दाता सदस्यहरूले चन्दा प्रदान् गर्नु भएको थियो भने यो समय-अवधी गत शुक्रबार ७ मार्च २०१४ मा पुरा भएको थियो । हाम्रो संस्था यो कार्यक्रमबाट जम्मा ५,३६५ पाँच हजार तीन सय पैँसठी पाउण्ड संकलन गर्न सफल भएको थियो ।
उक्त संकलित रकम हाम्रा तीन स्वर्गीय सदस्यहरुका परिवारजनहरूलाई हस्तान्तरण गर्नको निम्ति गत आईतबार, ९ मार्च २०१४ का दिन केन्टको आश्फोर्ड बजारस्थित नमुना रेस्टुराँमा “चन्दा हस्तान्तरण” कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम बिहान १० बाजेबाट चियापानीको साथ शुरु भएको थियो । गुरुङ समाज केन्ट (जी॰एस॰के॰)का कोषाध्यक्ष श्री बल राम गुरुङज्युले तीनवटै परिवारलाई बराबर भागबण्ड गरि तयार पार्नु भएको प्रतिपरिवार १,७८८ एक हजार सात सय अठासी पाउण्डको चेक संस्थाका अध्यक्ष श्री शोभराज गुरुङज्युको बाहुलीबाट पालैपालो हस्तान्तरण गरिएको थियो । चेक प्राप्त गर्न स्वर्गीय बीन बहादुर गुरुङको लागि वहाँको ज्वाईं श्री गम बहादुर गुरुङज्यु, स्वर्गीय चक्र बहादुर गुरुङको लागि वहाँको सुपुत्र श्री सन्तोस गुरुङज्यु र स्वर्गीय बल बहादुर गुरुङको लागि वहाँकी छोरी श्रीमती कोमल गुरुङज्यु उपस्थित हुनु भएको थियो ।
कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष श्री शोभराज गुरुङज्युले उपस्थित कार्यसमितिका सबै सदस्यज्युहरू, सल्लाहकारज्युहरु, शोकसन्तप्त परिवारजनज्युहरु, साधरण सदस्यज्युहरु र अन्य सबैलाई उपस्थितिको लागि धन्यबाद ज्ञापन गर्नु भएको थियो भने संस्थाप्रति  कर्तब्यनिष्ठ बनी आफ्नो अविभाराको अनुकरणीय भूमिका निभाई यो कार्यक्रमलाई सफल बनाउन पुर्‍याउनु भएको अथक प्रयासको कदर गर्दै कोषाध्यक्ष श्री बल राम गुरुङज्युलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमपछि परिवारजनहरुका तर्फबाट आभारसहित उपस्थित सबैको लागि खाजा-पानीको ब्यवस्था पनि गरिएको थियो ।
नर बहादुर गुरुङ,
महासचिव,
गुरुङ समाज केन्ट